आयोजनाले स्थानीय समुदायसँग सुमधुर सम्बन्ध कायम राख्दै प्रभावित क्षेत्रको जीवनस्तर सुधार गर्ने उद्देश्यले “समुदाय सहयोग कार्यक्रम” सञ्चालन गर्दछ। यस कार्यक्रम अन्तर्गत विद्यालय भवन मर्मत, कक्षा कोठा निर्माण तथा छात्रवृत्ति वितरणमार्फत शिक्षा क्षेत्रमा सहयोग गरिन्छ भने स्वास्थ्यतर्फ स्वास्थ्य चौकी सुदृढीकरण, आवश्यक औषधि तथा उपकरण उपलब्ध गराइन्छ। त्यस्तै, ग्रामीण सडक सुधार, बाटोघाटो निर्माण तथा कुलो–सिँचाइ मर्मतजस्ता पूर्वाधार विकासका कामहरू पनि समेटिन्छन्। साथै कृषि विकास, सीपमूलक तालिम र साना उद्यम प्रवर्द्धनमार्फत आयआर्जनका अवसरहरू बढाउने प्रयास गरिन्छ।
यी योजनाहरूको छनोट स्थानीय प्रभावित वडा कार्यालय र टोल विकास संस्थाहरूबाट प्राप्त मागका आधारमा गरिन्छ। प्राप्त प्रस्तावहरूमध्ये आयोजनाबाट बढी प्रभावित क्षेत्र, धेरै लाभग्राही समेट्ने योजना तथा दलित, जनजाति र महिला जस्ता पछाडि परेका वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइन्छ। कार्यान्वयनका क्रममा साना प्रकृतिका योजनाहरू उपभोक्ता समिति मार्फत सम्पन्न गरिन्छन् भने ठूला पूर्वाधार सम्बन्धी कामहरू ठेक्का प्रक्रिया मार्फत सञ्चालन गरिन्छन्।