बारम्बार सोधिने प्रश्नहरू

आयोजनाले स्थानीय बासिन्दाका लागि रोजगारीका अवसर सिर्जना गर्नेछ। सम्झौता बमोजिम कामदार भर्ना गर्ने जिम्मेवारी ठेकेदारको हुनेछ। प्राविधिक ज्ञान तथा निर्माणसम्बन्धी अनुभव आवश्यक पर्ने दक्ष कामदारहरू योग्यता र क्षमताका आधारमा भर्ना गरिनेछन् भने अर्ध-दक्ष तथा अदक्ष श्रमिकहरू मुख्यतः स्थानीय समुदायबाटै परिचालन गरिनेछन्। यसबाट स्थानीय बासिन्दाले आयोजनामा रोजगारी प्राप्त गर्ने राम्रो अवसर पाउनेछन्। रोजगारीमा इच्छुक स्थानीय बासिन्दाहरूले आयोजना कार्यालयमा सम्पर्क गरी निर्माण व्यवसायीसँग समन्वय गरेर उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिन सक्नेछन्।

हाल आयोजना कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको छ। निर्माण व्यवसायीले आयोजना स्थलमा निर्माण शिविर (क्याम्प) स्थापना गर्ने कार्य गरिरहेको छ। विस्तृत डिजाइन (Detailed Design) तथा आयोजनाको लेआउट अन्तिम रूप दिने लगायतका प्रारम्भिक कार्यहरू सम्पन्न भइसकेका छन्। यसका साथै, हेडवर्क्स क्षेत्रमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्ट स्थापनाका लागि आवश्यक स्थल तयारीको कार्य भइरहेको छ। आवश्यक निर्माण उपकरण तथा प्लान्टहरूको व्यवस्थापन र परिचालनको प्रक्रिया पनि अगाडि बढाइएको छ। सम्झौताको प्रारम्भिक करिब ६ देखि ९ महिनाको अवधि मुख्य रूपमा विस्तृत डिजाइन, योजना तथा निर्माणपूर्व तयारीका कार्यहरूमा केन्द्रित थियो, जुन सफलतापूर्वक सम्पन्न भएको छ। अब आयोजना वास्तविक निर्माण चरणमा प्रवेश गर्न तयार भएको छ, जहाँ मुख्य सिभिल निर्माण कार्यहरू सुरु हुनेछन्।

आयोजनाले स्थानीय समुदायसँग सुमधुर सम्बन्ध कायम राख्दै प्रभावित क्षेत्रको जीवनस्तर सुधार गर्ने उद्देश्यले “समुदाय सहयोग कार्यक्रम” सञ्चालन गर्दछ। यस कार्यक्रम अन्तर्गत विद्यालय भवन मर्मत, कक्षा कोठा निर्माण तथा छात्रवृत्ति वितरणमार्फत शिक्षा क्षेत्रमा सहयोग गरिन्छ भने स्वास्थ्यतर्फ स्वास्थ्य चौकी सुदृढीकरण, आवश्यक औषधि तथा उपकरण उपलब्ध गराइन्छ। त्यस्तै, ग्रामीण सडक सुधार, बाटोघाटो निर्माण तथा कुलो–सिँचाइ मर्मतजस्ता पूर्वाधार विकासका कामहरू पनि समेटिन्छन्। साथै कृषि विकास, सीपमूलक तालिम र साना उद्यम प्रवर्द्धनमार्फत आयआर्जनका अवसरहरू बढाउने प्रयास गरिन्छ। यी योजनाहरूको छनोट स्थानीय प्रभावित वडा कार्यालय र टोल विकास संस्थाहरूबाट प्राप्त मागका आधारमा गरिन्छ। प्राप्त प्रस्तावहरूमध्ये आयोजनाबाट बढी प्रभावित क्षेत्र, धेरै लाभग्राही समेट्ने योजना तथा दलित, जनजाति र महिला जस्ता पछाडि परेका वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइन्छ। कार्यान्वयनका क्रममा साना प्रकृतिका योजनाहरू उपभोक्ता समिति मार्फत सम्पन्न गरिन्छन् भने ठूला पूर्वाधार सम्बन्धी कामहरू ठेक्का प्रक्रिया मार्फत सञ्चालन गरिन्छन्।